काठमाडौं- नेपालमा शनिबार एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै, ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस शुक्रबार नेपालमा १० जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।
हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हाल ४६८६ जना क्वारेन्टाइनमा रहेका छन्।
आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हाल ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।