काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पाँचौं जित निकालेको छ। यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
दिल्लीले आफ्नो पाँचौं जित निकाल्ने क्रममा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको हो। १८५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन दुई बल बाँकी छदा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो। राजस्थानका लागि राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४ र कप्तान स्टेभ स्मिथले २४ रन बनाए। राजस्थानका कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा फराकिलो रनको हार ब्यहोरेको हो। दिल्लीका लागि बलिङतर्फ कागिसो रबडाले तीन, रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए।
यसअघि शारजाह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। दिल्लीका सिमरन हिटम्यरले २४ बलमा ४५, मार्कस स्टोइनिसले ३९, कप्तान श्रेयस ऐयरले २२, पृथ्वी शोले १९, अक्षर पटेलले १७ र हर्षल पटेलले १६ रनको योगदान दिए। बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए।
राजस्थानको लगातार चौथो हार
दिल्ली क्यापिटल्स जितसँगै शीर्ष स्थानमा उक्लिएको छ। जारी सिजन निकै बलियो टिमको रुपमा देखा परेको दिल्लीले खेलेको ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १० अंक बनाएको हो।
दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। दोस्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको दिल्ली आफ्नो तेस्रो खेलमा भने सनराइजर्स हैदराबादसँग १५ रनले हार्न पुग्यो। त्यसपछिका खेलमा फेरि उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीले कलकता नाइट राइडर्सलाई १८ र रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५९ रनले पराजित गरेको थियो।
यता, राजस्थानको भने यो लगातार चौथो हार हो। सुरुका दुई खेलमा भने जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको राजस्थानले त्यसपछिका खेलमा भने हार्दै आएको छ। आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको राजस्थानले दोस्रो खेलमा पञ्जाबलाई चार विकेटले हराएको थियो। तर त्यसपछिका खेलमा भने कलकतासँग ३७ रनले पराजित भएको राजस्थान बैंग्लोरसँग आठ विकेट र मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित भएको थियो।
६ खेलमध्ये चार खेलमा हार र दुई खेलमा जित निकालेको राजस्थान चार अंक बनाएर लिगको पुछारदेखि दोस्रो स्थानमा छ। लिगको शीर्ष स्थानमा दिल्ली रहँदा दोस्रो स्थानमा मुम्बई, तेस्रो स्थानमा हैदराबाद, चौथोमा कलकता, पाँचौंमा बैंग्लोर र छैटौं स्थानमा चेन्नाई रहेका छन्। सातौं स्थानमा राजस्थान रहँदा लिगको पुछारमा भने पञ्जाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।