काठमाडौं– दिल्ली क्यापिटल्सले आफ्नो छैटौं खेलमा शुक्रबार राति राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। राजस्थानविरुद्ध पनि सन्दीप बेन्चमै हुने सम्भावना भने बलियो छ।
युएईमा जारी आइपिएलमा राजस्थानलाई पराजित गर्दै दिल्लीले लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ। यता स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान भने तेस्रो जितको खोजीमा हुनेछ। दिल्ली अहिले लिगको दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको आठ अंक छ। पाँच खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको राजस्थान भने लिगको पुछारबाट दोस्रो स्थानमा छ।
राजस्थानको तुलनामा दिल्ली बलियो टिमको रुपमा देखिएको छ। ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ। ओपनिङमा पृथ्वी शो र शिखर धवनको जोडी निकै राम्रो लयमा छन्। पृथ्वी र धवनले यसअघिका खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ९४, कोलकाता नाइट राइडर्सविरुद्ध ५६ र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।
दिल्लीको ओपनिङ जोडी चल्दा उच्च स्कोर बनिरहेको छ। त्यस्तै, मध्यक्रममा कप्तान श्रेयस ऐयर, रिषभ पन्त र मार्कस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै आएका छन्। बलिङतर्फ पनि कागिसो रबडाजस्ता आइपिएलकै राम्रा बलर छन्। रबडाले ५ खेलबाट १२ विकेट लिइसकेका छन्। त्यस्तै, एनरिच नोर्टजे रविचन्द्रन अश्विन र अक्षर पटेल जस्ता लयमा रहेका बलर छन्।
राजस्थानले स्टार खेलाडी हुँदा हुँदै पनि खेलहरु हारिरहेको छ। स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानमा जस बटलर, टोम कुरन, डेभिड मिलर, जोफ्रा आर्चर जस्ता विदेशी खेलाडी छन्। त्यस्तै, सन्जु सामसन, रोविन उथप्पा, राहुल टेवाटिया लगायतका राम्रा खेलाडी छन्। बेन स्टोक्स भने राजस्थानबाट आइपिएल खेल्न युएई आइपुगे पनि शुक्रबारको खेलमा भने उपस्थित हुने छैनन्। उनी अहिले क्वारेन्टाइनमा छन्। राजस्थानको आउँदो खेलमा भने उनी टिममा हुनेछन्।
लगातार पाँचौ खेलमा बेन्चमा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने राजस्थानविरुद्धको खेलमा पनि प्लेइङ सेटमा नपर्ने सम्भावना बढी छ। मुख्य प्रशिक्षक रिक्की पोन्टिङले राजस्थानविरुद्ध पनि यसअघि बैंग्लोरविरुद्ध मैदानमा उतारेका खेलाडी नै प्लेइङ सेटमा हुनेछन्। अमित मिश्रा आइपिएलबाट चोट बोक्दै बाहिरिएपछि सन्दीपले खेल्ने मौका त बढेको छ तर उच्च लयमा रहेका खेलाडीलाई बेन्चमा राख्दै सन्दीपलाई अहिले नै खेलाइनेछ भन्न सकिने अवस्था भने छैन। विज्ञहरुको विश्लेषण अनुसार राजस्थानविरुद्धको खेलमा सन्दीप पर्ने छैनन्।
सम्भावित प्लेइङ सेट
दिल्ली– श्रेयस ऐयर (कप्तान), रिषभ पन्त, मार्कस स्टोइनिस, पृथ्वी शो, शिखर धवन, कागिसो रबडा, एनरिच नोर्टजे, सिमरन हिटम्यर, अक्षर पटेल, रविचन्द्रन अश्विन, हर्षल पटेल
राजस्थान– स्टेभ स्मिथ (कप्तान), यशास्वी जैसवाल, जस बटलर, सन्जु सामसन, महिपाल लाम्रोर, राहुल टेवाटिया, टोम कुरन, श्रेयस गोपाल, जोफ्रा आर्चर, कार्तिक त्यागी, अंकित राजपुत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।