झापा–झापा र सप्तरीमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत असोज १८ गते अस्पताल भर्नासँगै संक्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए। यससँगै दमकमा मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई संक्रमित पुरुषको मृत्यु भएको छ।
यस्तै, सप्तरीमा कोरोना संक्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।
उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए। सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा संक्रमण भेटिएपछि उनी होमआइसोलेसन थिए। मृतक निमोनियाले ग्रसित रहेको जनाइएको छ।
यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए। हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।