काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) का एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
एन्फाले बिहीबार आफ्ना कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो। कोरोना संक्रमण भएसँगै एन्फाले तीन दिनसम्म कार्यालय बन्द रहने जानकारी दिएको छ। एन्फाले कोरोना संक्रमित कर्मचारीको नाम भने गोप्य राखेको छ। अहिले संक्रमित कर्मचारी होम क्वारेन्टाइनमा बसेको पनि एन्फाले जानकारी दिएको छ।
एन्फाले गत साउन अन्तिममा खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टेल स्टाफको कोरोना परीक्षण गरेको थियो। जसमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आउँदा एरिक विष्टको भने पोजेटिभ आएको थियो। आइसोलेसनमा बसेका एरिक कोरोनालाई जित्दै निको भएका थिए।
भदौं १ गतेबाट विश्वकपको दोस्रो चरणको खेलका लागि नेपाली टिमले अभ्यास थाल्ने तालिका थियो। तर विश्वकपअन्तर्गत दोस्रो चरणको खेल नै विश्व फुटबल महासंघ (फिफा) ले सारेपछि अभ्यास पनि रोकिएको थियो।
अहिले एन्फा सरकारको निर्णय कुरेर बसिरहेको छ। सरकारले समूहमा खेलिने खेलको अभ्यासदेखि प्रतियोगितासम्म नगराउनु भनेर आदेश दिएको छ। सरकारले अभ्यास गराउनु भनेर निर्देशन दिएपछि खेलाडीलाई ट्रेनिङमा बोलाउने एन्फाको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।