काठमाडौं– राजस्थान रोयल्सका कप्तान स्टेभन स्मिथलाई आइपिएलले १२ लाख भारु जरिवाना गरेको छ। डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सविरुद्ध ढिलो गरी बलिङ गरेको भन्दै आइपिएलले कप्तान स्मिथलाई जरिवाना गरेको हो।
मंगलबार राति अबुधावीमा मुम्बईसँग राजस्थान ५७ रनले पराजित भएको थियो। १९४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले १८.१ ओभरमा सबै विकेटको क्षतिमा १३६ रन मात्रै बनाएको थियो। राजस्थानका लागि जस बटलरले ७० रन बनाएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईविरुद्ध राजस्थानले स्लो ओभर बलिङ गरेको आइपिएलको ठहर छ। मुम्बईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १९३ रन बनाएको थियो। राजस्थानले बलिङ गर्ने क्रममा केही ढिलो गरेको थियो। आइपिएलको आचारसंहिताविपरीत स्लो ओभर बलिङ गराएको भन्दै आयोजकले कप्तान स्मिथलाई जरिवाना गरेको हो।
पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको राजस्थानको चार अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।