काठमाडौं- नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अनावश्यक रूपमा कोभिड सुरक्षा शुल्क (कोभिड प्रोटेक्सन चर्जेज) नलिएको दावी गरेको छ।अस्पतfलले संक्रमणको जोखिम कम गर्न कोभिड र ननकोभिड बिरामीलाई छुट्टाछुट्टै उपचार गर्नका लागि धेरै धनराशी चाहिने भएकाले त्यसका लागि उक्त शुल्क लिएको जनाएको छ।
अस्पतालले कोभिड सुरक्षा शुल्क लिने गरेको भन्दै विभिन्न समाचारहरू आए पनि कोभिड र ननकोभिड बिरामीलाई छुट्टाछुट्टै भवनमा राखिएको र संक्रमणलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार उचित व्यवस्थापन गरिएकाले त्यसका लागि शुल्क लिएको बताएको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले यस्तो जनाएको हो।
‘विभिन्न संचारमाध्यममा यस अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरुको भिजिटर र निजहरुले बोकेर ल्याउनसक्ने संक्रमणलाई अत्यन्त वैज्ञानिक ढंगबाट व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने हुन्छ, जसले गर्दा भर्ना भएका बिरामीहरुमा कोभिडको प्रभाव नपरोस्‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘नर्भिकले कोभिड र ननकोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा संचालन गर्दै आएको छ।’
डब्लुएचओले तोकेको मापदण्डअनुसार व्यवस्थापन गरिएको भन्दै अस्पताले विज्ञप्तिमार्फत भनेको छ‚ ‘यस्ता, ननकोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तर्राष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ। त्यसका लागि अन्तर्राष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल सूकभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट(मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँलाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको छ।‘
यी सबै प्रयासका लागि ठूलो धनराशी खर्च गर्नुपर्ने भएकाले बाध्य भएर उक्त शुल्क लिएको अस्पतालले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।