काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको महिला टिमले कीर्तिमानी जित निकालेको छ। न्युजिल्यान्डविरुद्धको सिरिजअन्तर्गत अन्तिम खेलमा जित निकोलेसँगै अस्ट्रेलियन महिला टिमले लगातार २१ खेलसम्म अपराजित यात्रालाई कायमै राखेको हो।
न्युजिल्यान्डविरुद्धको अन्तिम खेलमा अस्ट्रेलियाले २३२ रनको फराकिलो जित निकाल्यो। ३२६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले २७ ओभरमा सबै विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सक्यो। न्युजिल्यान्डकी एमी सेटरवेटले ४१ रन बनाउन बाहेक अन्य खेलाडीले उच्च रन बनाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३२५ रन बनाएको थियो।
अस्ट्रेलियाकी कप्तान रचेल हेन्सले ९६, र अलिसा हेलीले ८७ रन बनाइन्। बलिङतर्फ न्युजिल्यान्डकी एमेलिया केरले तीन विकेट लिइन्।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अस्ट्रेलियाले ३–० ले आफ्नो पक्षमा पार्यो। यसअघि पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा चार विकेटले हराएको थियो।
यो जितसँगै अस्ट्रेलियाको महिला क्रिकेट टिमले २१ पटक लगातार जित निकालेको हो। २०१८ देखि २०२० सम्म अपराजित रहँदै अस्ट्रेलियन महिला क्रिकेट टिमले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको हो। यसअघि अस्ट्रेलियाको पुरुष टिमले नै २००३ मा लगातार २१ खेलमा जित हात पार्दै कीर्तिमान राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।