काठमाडौं- सनराइजर्स हैदराबादका तीव्र गतिका बलर भूवनेश्वर कुमार जारी इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिएका छन्।
हैदराबादले भूवनेश्वरले आइपिएलको बाँकी खेल गुमाउने भएको जानकारी दिएको हो। गत शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध बलिङ गर्ने क्रममा भूवनेश्वरको तिघ्रामा समस्या आएको थियो। उनी आफ्नो चौथो ओभरको पहिलो बलमा घाइते हुन पुगेका थिए।
त्यसपछि उनको बाँकी ओभर खालिल अहमदले बलिङ गरेका थिए। भुवनेश्वरले ३.१ ओभरमा २० रन खर्चिएर एक विकेट लिए। भूवनेश्वरले चार खेलबाट तीन विकेट लिएका छन्।
हैदराबादले भूवनेश्वर कुमारको स्थानमा तीव्र गतिका बलर पृथ्वी यरालाई भित्र्याएको छ।
भूवनेश्वर जारी आइपिएलबाट घाइते हुँदै बाहिरिने तेस्रो खेलाडी हुन्। यसअघि हैदराबादकै मिचेल मार्स घाइते हुँदै बाहिरिएका थिए।
त्यस्तै, सोमबार मात्रै दिल्ली क्यापिटल्सका लेग स्पिनर अमित मिश्रा हातको औंलामा लागेको गम्भीर चोटको कारण आइपिएलबाट बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।