काठमाडौं- दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५९ रनले पराजित गरेको हो।
१९७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाएपछि दिल्लीले सहज जित निकालेको हो। बैंग्लोरका कप्तान विराट कोहलीले ४३ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए। दिल्लीका कागिसो रबडाले चार ओभरमा मात्र २४ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, एनरिच नोर्टजे र अक्षर पटेलको नाममा समान २–२ विकेट रह्यो।
यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १९६ रन बनाएको थियो। दिल्लीका लागि मार्कस स्टोइनिसले २६ बलमा अविजित ५३ रन बनाउँदा पृथ्वी शावले ४७, रिषभ पन्तले ३७ र शिखर धवनले ३२ रन बनाए। पहिलो विकेटको लागि पृथ्वी र धवनले ६८ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा लगेका थिए। बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिए।
पाँचौ खेलमा दिल्लीको यो चौथो जित हो। यसअघि किंग्स इलाभेन पञ्जाबलाई आफ्नो पहिलो खेलमा सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो। तर तेस्रो खेलमा भने सनराइजर्स हैदराबादसँग दिल्ली १५ रनले पराजित भएको थियो। त्यस्तै, चौथो खेलमा भने कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको थियो।
पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्ली आठ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोरेको बैंग्लोरको ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।