दार्चुला- नेपाली सेनाले निर्माण गरेको दार्चुलाको सदरमुकाम खलंगादेखि घाटीबगड भएर छाङरु जाने गोरेटो बाटो सेनाले स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ। सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त गोरेटो बाटो स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्।
जेठ ८ गतेदेखि सेनाले उक्त बाटो बनाउन सुरू गरेको थियो। निर्माण सुरू गरेको करिब चार महिनाभित्र सेनाले उक्त बाटो सम्पन्न गरेको हो।
उक्त गोरेटो बाटो बनाउने जिम्मा मन्त्रिपरिषद बैठकले सेनालाई दिएको थियो। नेपाल सरकारबाट १ करोड ८ लाख ३६ हजार रकम छुट्याएपछि ४५० मिटर लामो र दुई मिटर चौडा बाटो बनाउने प्रारम्भिक लक्ष्य रहेको भएपनि जमिनको बनावट र आवश्यकताको कारण ५५० मिटर बाटो बनाइएको सेनाले उल्लेख गरेको छ।
प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी फोडी गोरेटो-घोडेटो बाटो निर्माण गर्नु परेकोले अनुमान गरिएभन्दा बढी समय लागेको सेनाले बताएको छ।
बाटो निर्माण कार्यमा नेपाली सेनाको तर्फबाट सेनानीको नेतृत्वमा ६५ जना सैनिकले भाग लिएका थिए। उक्त गोरेटो बाटो निर्माण गर्दा १३ जनाभन्दा नबढाई ३३ जना अर्धदक्ष स्थानीय श्रमिकहरूलाई रोजगार प्रदान गरिएको सेनाले जनाएको छ।
कार्यक्रममा सेनाका उच्च अधिकारीहरू समेत उपस्थित भएका थिए। विगत तीन वर्षदेखि बाटो अवरुद्ध रहेकाले दार्चुलाको व्यास नगरपालि- १ का स्थानीयले छिमेकी ठाउँ जानसमेत भारतीय भूमि प्रयोग गर्नुपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।