काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले ७ वर्षपछि १० विकेटको जित हात पारेको छ। दुबईमा जारी आइपिएलमा चेन्नइले आइतबार राति किंग्स इलेभेन पञ्जावमाथि १० विकेटको जित दर्ता गरेको हो।
सन् २०१३ मा चेन्नईले पञ्जावमाथि नै १० विकेटको जित हासिल गरेको थियो। जारी सिजनमा दोस्रो जित दर्ता गर्ने क्रममा आइपिएलका ओपनर ब्याट्सम्यानद्वय फाफ डु प्लेसिस र शेन वाट्सनले अविजित रहँदै लक्ष्य भेट्टाएका छन्।
पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ४ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। चेन्नइले १७.४ ओभरमा १८१ रन बनायो। चेन्नईका लागि फाफ डु प्लेसिसले ८७ र शेन वाट्सनले ८३ रन बनाए।
त्यसअघि पञ्जावका कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाएका थिए। त्यसैगरी निकोलस पुरनले ३३, मन्दीप सिंहले २७ र मयंक अग्रवालले २६ रन बनाए। बलिङतर्फ चेन्नइका शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुस चावलाले १/१ विकेट लिएका थिए।
जितपछि चेन्नई छैटौँ स्थानमा उक्लिएको छ भने हारसँगै पञ्जाव पुछारमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।