प्रतिनिधिमूलक तस्बिर
नयाँ दिल्ली- कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू अक्टोबरको अन्त्यसम्म बन्द रहने भएका छन्। दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार अक्टोबरको अन्त्यसम्म विद्यालय बन्द हुने बताएका हुन्।
'दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ। मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु। यसबारेको आदेश चाँडै जारी गरिनेछ,' सिसोडियालाई भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले लेखेको छ।
यो घोषणा भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भएपनि खोल्ने भनी गरिएका हल्ला र अनुमानबीच आएको हो। यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो।
संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड–१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो। यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ।
विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ। विश्वमा कोभिड–१९ का कारण दोस्रो बढी प्रभावित भारत हो भने भारतमा बढी प्रभावित राज्यमध्ये दिल्ली छैठौँ हो।
दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।