काठमाडौं- कास्कीमा आयोजनास्थल रहेको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ। आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन्। बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो।
सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब २५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन्। बैंक र आयोजनाबीचमा भएको सम्झौताअनुसार ऋण लगानीमा अगुवाई गरेको कुमारी बैंकले दुई अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब २५ करोड लगानी गर्ने भएका हुन्।
बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका छन्।
आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धकबीच हस्ताक्षरसमेत भइसकेको छ। आगामी मंसिरदेखि आयोजना निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।