काठमाडौं– साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको हो।
२०९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो। हैदराबादका लागि कप्तान डेभिड वार्नरले ४४ बलमा ६०, मनिष पाण्डेले ३०, जोनी बैरस्टवले २५ र अब्दुल सामदले २० रन बनाएपनि टिमको हारलाई जोगाउन सकेनन्।
बलिङतर्फ ट्रेन्ट बोल्ट, जेम्स पिटिन्सन र जसप्रित बुमराहले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०८ रन बनाएको थियो। मुम्बईका लागि डि ककले ३९ बलमा ६७, इशान किशानले ३१, हार्दिक पाण्ड्याले २८, सुर्य कुमार यादवले २७, कइरन पोलार्डले अविजित २५ र क्रुनाल पाण्ड्याले अविजित २० रन बनाए। बलिङतर्फ सन्दीप शर्मा र सिद्धार्थ काउलले समान २–२ विकेट लिए।
यो जितसँगै मुम्बईले पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित हैदराबादले भने पाँच खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।