नेपालगन्ज–बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक सुत्केरीको आज बिहान मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आज बिहान ४ः३० बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट रगत र चार पिन्ट प्लेटलेट दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुर पठाइएको थियो।
उनमा सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे थियो। यही असोज १५ गते अपराह्न ४ः०० बजे शिक्षण अस्पतालमा भर्ना हुँदा महिलाको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको समन्वयमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।