काठमाडौं–गत बिहीबार सर्वोच्च अदालतको फुलकोर्टको बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित १७ न्यायाधीश सहभागी थिए।
यसरी सहभागी भएकामध्ये एक न्यायाधीशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भयो। सरुमा ती न्यायाधीशको छोरामा संक्रमण पुष्टि भएको थियो। लगत्तै उनमा पनि संक्रमण पुष्टि भएको थियो। फुलकोर्टमा सँगै बसेका न्यायाधीशमा कोरोना पुष्टि भएपछि सर्वोच्च अदालतले एक सूचना जारी गर्दै प्रभावित न्यायाधीश र कर्मचारी आईसोलेसन/क्वारेन्टाइनमा बसेको उल्लेख गरेको छ।
आइतबार सर्वोच्चमा एउटामात्र इजलाश गठन भएको छ। न्यायाधीश मनोज शर्माको इजलाशमा मात्र पेशी तोकिएको छ। प्रधानन्यायाधीशसहित अन्य सबै न्यायाधीश कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु क्वारेन्टाइनमा बसेका हुन्। संक्रमण पुष्टि भएका बाहेक न्यायाधीशको स्वाब आइतबार संकलन गर्ने तयारी सर्वोच्चले गरेको छ।

सर्वोच्च अदालतमा हाल ३० जनाभन्दा धेरै कर्मचारी आइसोलेसन÷क्वारेन्टाइनमा छन्। कोरोना संक्रमित भएका र उनीहरुको नजिक रहेकाहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले त्यसको असर सर्वोच्चमा पनि परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।