काठमाडौं–विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता दक्षिण अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ। समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ।
सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ । समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बँच्ने एकमात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गरे। उनले कोरोना संक्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।