चितवन–चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना संक्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।
भरतपुर कारागारमा उच्च सतर्कता
यसैबीच, कोरोना संक्रमणलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ। क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेकाले यहाँ कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको हो। चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताए। ‘आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पु¥याउने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ । बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।’
प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ। कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन। कैदी तथा थुनुवाको खानपानमा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ ।
नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको उनले बताए। काफ्लेका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ । करिब ३० शय्याको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।