काठमाडौं– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको हो।
२२९ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २१० रन बनायो। नितिश रानाले ३५ बलमा ५८, इयोन मोर्गनले १८ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ४४, राहुल त्रिपाठीले १६ बलमा ३६ र शुबमन गिलले २८ रन बनाएपनि कोलकत्तालाई हारबाट जोगाउन सकेनन्। बलिङतर्फ एनरिच नोर्टजेले तीन विकेट लिदा हर्षल पटेलले दुई विकेट लिए।
शारजाह क्रिकेट रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा चार विकेटको क्षतिमा २२८ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयस ऐयरले मात्र ३८ बलमा ६ छक्का र सात चौकाको मद्दतमा अविजित ८८ रन बनाए। त्यस्तै, पृथ्वी शावले ६६, रिषभ पन्तले ३८ र शिखर धवनले २६ रनको योगदान दिए। पहिलो विकेटका लागि पृथ्वी र शिखरले ५६ रनको साझेदारी गर्दा दोस्रो विकेटका लागि पृथ्वीले कप्तान श्रेयससँग ७३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। त्यसपछि कप्तान श्रेयसले रिषभसँग ७२ रनको साझेदारी गर्दा दिल्लीले कोलकत्ताविरुद्ध विशाल लक्ष्य प्रस्तुत गर्याे।
जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर शीर्ष स्थान ओगटेको हो। अंक तालिकाको दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर छ। बैंग्लोरले पनि चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।