काठमाडौं–भक्तपुर, चितवन र झापामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मध्यपुरथिमि–१ लोहकिल्थलीमा घरमै आइसोलेसनमा बसेका एक पुरुषको आज बिहान मृत्यु भएको हो। ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।
पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको परिवारले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो।
यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन्।
यसैगरी झापाको दमक नगरपालिका–७ की कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्यु भएको हो। केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो।
उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए। यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।
यस्तै, चितवनमा कोरोनाको सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यससँगै चितवनका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।