काठमाडौं- कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जानकारी दिएको हो।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताए।
औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको हो। उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभाग को स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न डा. ज्ञवालीको भनाइ छ।
यसबाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ। परिषदका सदस्य सचिव ज्ञवालीले प्रदेश ५ र प्रदेश २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताए। जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको हो।
खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उनले स्पष्ट पारे।
आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।