काठमाडौं- राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) का अध्यक्ष कुशकुमार जोशीज्यूको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग भेटघाट गरी लकडाउन नदोरह्याउन सरकारसँग अनुरोध गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं राष्ट्रिय व्यबसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी र होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेको हो।
पहलका अध्यक्ष जोशीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको ६ महिनाभन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै सरकारले यसको विकल्प खोज्नुपर्ने बताए।
सरकारले लकडाउन खुकुलो पारेसँगै बिस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको उनको भनाइ छ। कोभिड- १९ महामारीको सम्भावित जोखिम न्यूनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं वैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको र यसमा सरकारको ठोस सहयोगको आवश्यकता रहेको उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको बताउदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुनरोत्थानका कार्यक्रमका साथ अघि बढाउनुपर्ने बताए।
त्यस्तै पहलका महासचिव सुरेन्द्रवीर मालाकारले विभिन्न समस्याका विच अघि बढिरहेको नेपालको औद्योगिक व्यवसायिक क्षेत्रमा कोभिडले थप नयाँ गम्भीर चुनौति सिर्जना गरेको वताउदै यसको समाधानमा सरकार तथा निजी क्षेत्रको ठोस सहकार्यको आवश्यकता औंल्याए।
उद्योगी व्यवसायीहरुका सुझाव लिईसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निजी क्षेत्रका सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको र सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको मन्त्री ढकालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।