बिबिसी- कोरोना भाइरसविरूद्धको प्रभावकारी भ्याक्सिन निर्माण भए पनि सन् २०२१ को मध्यसम्ममा समेत जीवनस्तर सामान्य अवस्थामा नल्याउने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
आम मानिसको मस्तिष्कमा कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्माण हुनासाथ यो महामारीको अन्त्य भइजान्छ भन्ने कुराले जरो गाढेर बसेको छ। तर रोयल सोसाइटीद्वारा सार्वजनिक एक रिपोर्टमा भ्याक्सिनको बारेमा यथार्थ जानकारी आम मानिसम्म पुग्नु अनिवार्य भएको उल्लेख गरिएको छ। कस्तो प्रकारको भ्याक्सिन आउन लागेको हो र कहिलेसम्ममा आउनसक्नेबारे मानिसहरूलाई सुसूचित गराउनुपर्ने रिपोर्टमा उल्लेख छ।
विश्वमा अहिले कोरोना भाइरसविरूद्धका २०० भन्दा ज्यादा भ्याक्सिनहरू निर्माणाधीन रहेका छन्।
‘भ्याक्सिनले यो महामारी अन्त्य हुनेमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। तर यसभन्दा अघि निर्माण भएका विभिन्न भ्याक्सिनहरूको इतिहाँस केलाउने हो भने कुनै प्रयोजनमा नआउने यस्ता कयौं भ्याक्सिनहरूको निर्माण भएको हामीलाई थाहा छ।’ लन्डनस्थित इम्पेरियल कलेजकी नेसनल हार्ट एन्ड लङ्ग इन्स्टिच्युटकी डा फियोना कुलेले भनिन्।
बेलायती सरकारका वैज्ञानिक सल्लाहकारका अनुसार भने केही व्यक्तिहरूले यही वर्षको अन्त्यमा भ्याक्सिन प्राप्त गर्ने र मास भ्याक्सिनेसन चाहीँ सन् २०२१ को सुरूदेखि सुरू हुन सक्ने बताएका छन्।
रोयल सोसाइटीले यो प्रक्रिया लामो भएको बताएको छ। ‘हामीले भ्याक्सिन १, २ महिनाभित्रै आउँछ भनेका छैनौं। यसका लागि कमसेकम पनि ६ महिना‚ ९ महिना र वर्षौं लाग्न सक्ने भनेका छौं।’ इम्पेरियल कलेज लन्डनका केमिकल इन्जिनियरिङका प्रमुख प्रोफेसर निले साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।