काठमाडौं– साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा मुम्बईले किंग्स इलाभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको हो।
१९२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो। उत्कृष्ट सुरुवात गरे पनि पञ्जाबले मुम्बईमाथि जित निकाल्न सकेन। पञ्जाबका लागि निकोलस पुरनले ४४, मयंक अग्रवालले २५, कृष्णप्पा गोवथामले अविजित २२ र कप्तान केएल राहुलले १७ रन बनाउन बाहेक अन्य खेलाडीको ब्याटिङ राम्रो भएन। कप्तान राहुल र मयंकले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। तर त्यसपछि पनि पञ्जाबको विकेट पतन सुरु भयो। मुम्बईका लागि बलिङतर्फ राहुल चाहार, जसप्रित बुमराह र जेम्स पिटनसनले समान २–२ विकेट लिए।
यसअघि शिख जयद मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। खराब सुरुवात गरेको मुम्बईका लागि कप्तान रोहित शर्मा, केइरन पोलार्ड र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङ गरे।
शुन्य रन हुँदा नै डि ककलाई गुमाएको मुम्बईका लागि कप्तान रोहितले ४५ बलमा ७० रन बनाए। त्यस्तै, पोलार्डले २० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४७ रन बनाए। त्यस्तै, हार्दिक पाण्ड्याले ११ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन बनाए।
मुम्बईका यो चौथो खेलमा दोस्रो जित हो। यसअघि भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ५ विकेटको हार ब्यहोरेको मुम्बईले दोस्रो खेलमा भने कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो। त्यस्तै, आफ्नो तेस्रो खेलमा भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग मुम्बई सुपर ओभरमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।