काठमाडौं- १८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन्।
'देश संकटमा छ। कोरोना विरुद्धको लडाइमा जुधिरहेका धेरैलाई हामीले गुमाएका पनि छौं। यस्तो बेला अनसन र हडताल राम्रो विषय भएन। अरु मागमा पछि पनि छलफल गर्न सकिन्छ। सरकार डा केसीलाई अनसन फिर्ता लिन आग्रह गर्छ,' मन्त्री ज्ञवालीले भने।
विगतदेखि नै उठाएका माग डा केसीले पुनः उठाएको र धेरै माग कार्यान्वयन गएको भन्दै मन्त्री ज्ञवालीको भनाइ छ। डा केसीकै मागअनुसार चिकित्सा शिक्षा ऐन, नियमावली र आयोगसमेत बनिसकेको समेत उनको भनाइ छ।
डा केसीले सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा ल्याउन गरेको माग पनि सम्बोधन भइसकेको उनको दाबी छ।
यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम पनि पूरा हुन लागेको भन्दै उनले प्रदेशगत मेडिकल कलेजको पनि फेहरिस्त प्रस्तुत गरेका थिए।
मन्त्री ज्ञवालीले हाल मेडिकल कलेज संचालनमा नरहेको प्रदेश २ मा २ कलेज निर्माणाधीन भएको, प्रदेश ५ को बुटवलमा पनि बन्दै गरेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन नै सुरु भएको उल्लेख गरेका छन्। कर्णालीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पढाइ सुरु भएको उनले बताए।
सुदूरपश्चिमको धनगढीमा गेटा कलेज निर्माणाधीन अवस्थामा रहेको भन्दै मन्त्री ज्ञवालीले यी काममा थप दबाब दिनु आवश्यक नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।