काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ। मृत्यु भएका चिकित्सकलाई रेम्डिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको भेरी अञ्चल अस्पतालले जनाएको छ।
कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरी सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै डा सापकोटाको फोक्सोमा निमोनिया भएर समस्या बढेपछि मृत्यु भएको जनाएको छ।
उनलाई भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो। सुर्खेतमै उपचार भइरहेको भएपनि श्वासप्रस्वासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल पुर्याइएको थियो।
अस्पतालले मधुमेह र उच्च रक्तचापको का बिरामी डा सापकोटालाई अस्पताल ल्याउँदा अक्सिजन र बल्ड सुगर नियन्त्रणका लागि विभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिक चलाएपनि सुधार नभएको जनाएको छ।
उपचारको क्रममा डा सापकोटाको स्वास्थ्यमा आशातित सुधार नभएपछि थप सुविधा सम्पन्न ठाउँमा रिफर गर्ने प्रयास गरिएको बताएको छ। तर अक्सिजन स्याचुरेसन निकै कम भएकोले रिफर गर्दा थप दुर्घटना हुने सम्भावनाका कारण त्यहीँ उपचार गरिएको स्पष्ट पारेको छ।
‘उहाँ फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप श्वासप्रश्वास सम्बन्धी समस्या भई अक्सिजन स्याचुरेसन घट्दो रहेकोले आज बिहान ६ बजे भेन्टिलेटरमा राखिएको थियो,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
करीब १२ बजे मुटुको चाल बन्द हुँदा फर्काउन सिपिआर विधि गरिएको तर दिउँसो ३ बजेर ३० मिनेट जाँदा कार्डियक अरेस्ट भई मृत्यु भएको अस्पतालले जनाएको छ ।
५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।