काठमाडौं- काठमाडौं–तराई–मधेश द्रूतमार्ग (फास्ट ट्र्याक) आयोजनाको दुई सुरुङमार्ग निर्माण गर्न २७ वटा कम्पनीले आवेदन दिएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा पाएको ट्र्याक आयोजनामा पर्ने तीनवटा सुरुङमार्ग निर्माणका लागि दुई प्याकेजमा पूर्वयोग्यताका लागि बोलपत्र आह्वान गरेको थियो।
यसमा पहिलो प्याकेजमा २१ वटा र दोस्रो प्याकेजमा २२ वटा गरी कुल ४३ कम्पनीले आवेदन दिएको नेपाली सेनाले जनाएको छ। पहिलो प्याकेजमा छोक्रेडाँडादेखि महादेव खोल्सी ३.३ किमी सुरुङमार्ग निर्माण हुनेछ। दोस्रो प्याकेजमा धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङमार्ग निर्माण हुनेछ। सुरुङ मार्गहरुको कुल लम्बाई ६.४ किलोमिटर रहेको छ।
दुई लेनको स्ट्याण्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलबाट गर्न लागिएको हो। जसमा परियोजनाको प्लानिङ, डिजाइन, इन्जिनियरिङ, कन्स्ट्रक्सन र कमिसनिङको काम निर्माण कम्पनी नै गर्नुपर्नेछ।
नेपाली सेनाले मूल्यांकन समितिमा पेश भएका बोलपत्रहरुको मूल्यांनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचीकृत गर्नेछ। आयोजनाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरु सूचीकृत हुने सेनाले जनाएको छ। मूल्यांनको काम दुई सातामै सक्ने योजना सेनाको छ। सबै प्रक्रिया पुरा भएपनि सार्वजनिक खरिद नियमावलीअनुसार दुवै प्रस्तावमा उपयुक्त ठहरिएको कम्पनीले यो सुरुङमार्ग निर्माणको ठेक्का पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।