काठमाडौं- सरकारले असोज पाँच गतेबाट सुरु गरेको आन्तरिक उडानको संख्या बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार असोज १५ गते बिहीबारबाट लागू हुनेगरी आन्तरिक उडानको संख्या बढाइएको हो।
उडान संख्या थपघट गर्ने अधिकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई समेत दिइएको छ। आन्तरिक उडान खुलेसँगै हवाई यात्रुको चाप निरन्तर बढिरहेको छ। यसअघि प्राधिकरणले २५ प्रतिशत उडान गर्दै आएको थियो भने अहिले बढाएर ३५ देखि ४० प्रतिशत उडान पुर्याउने गरी उडान संख्या बढाइएको छ।
प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको बिहीबारदेखि २९ उडान गर्न पाउने छ भने १२ उडान अनुमति पाएको यतीले अब दैनिक १५ उडान गर्न पाउने भएको छ। त्यस्तै बुद्धलाई विराटनगरबाट तुम्लिङटार दैनिक १ उडानको अनुमति दिइएको छ।
यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ। सिम्रिक दैनिक २ वटा उडानको अनुमति दिइएको छ। साथै दुर्गमका उडान गर्ने ताराको काठमाडौं तुक्ला ३ वटा, फफ्लुमा साताको ३ वटा उडान अनुमति पाएको छ। समिटले पनि अब लुक्ला दैनिक २ वटा र सातामा ५ वटा जोमसोम उडानको अनुमति दिइएको छ। सिता एयरलाई काठमाडौंबाट ताप्लेजुङ २ वटा र लुक्ला एउटा उडान अनुमति दिइएको छ।
यो उडान अक्टोबरभरिका लागि लागू हुने प्राधिकरणले जनाएको छ। हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई यात्रुको चाप थेग्न नसकेको भन्दै उडान संख्या बढाउन प्राधिकरणमा लिखित निवेदन समेत दिएका थिए। एयरलाइन्स कम्पनीहरुको उडान संख्या बढेसँगै आन्तरिकतर्फ अब दैनिक करिब १ सय उडान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।