काठमाडौं– रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंग्लोरले डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको हो। २०२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
सुपर ओभरमा जानुअघि मुम्बईका लागि इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ५८ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ९९ रन बनाए। त्यस्तै कइरन पोलार्डले २४ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६० रन बनाए।
सुपर ओभरमा भने मुम्बईले पहिले ब्याटिङ गर्दै बैंग्लोरलाई ८ रनको चुनौती दिएको थियो। सुपर ओभरको अन्तिम बलमा कप्तान विराट कोहलीले चौका प्रहार गर्दै जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। बैंग्लोरका लागि एबी डिभिलियर्सले २४ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ५५ रन बनाउँदा देवदुत्त पदिकलले ५४ र आरोन फिन्चले ५२ रन बनाए। त्यस्तै, शिभम दुबले १० बलमा अविजित २७ रन बनाए। बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले २ विकेट लिए।
बैंग्लोरको यो तेस्रो खेलमा दोस्रो जित हो। यसअघि पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा किंग्स इलाभेन पञ्जाबविरुद्ध ९७ रनको हार ब्यहोरेको थियो। यता, मुम्बईको भने यो दोस्रो हार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।