काठमाडौं- कोरोना महामारीसँगै बन्द भएको नेपाल–भारत अन्तर्राष्ट्रिय उडान छिट्टै खुल्ने भएको छ। भारतीय उड्डयन मन्त्रालयले नेपाल–भारतबीच ‘एयर बबल’ नियमअनुसार उडान सुरु गर्ने प्रस्ताव नेपालसँग गरेको छ।
भारतीय पक्षको प्रस्तावसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन मन्त्रालयले यस विषयमा छलफल थालको छ।
मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षको प्रस्तावअनुसार स्वास्थ्यसम्बन्धी मापदण्ड र नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा अहिले लागू गरेको नियमअनुसार छिट्टै उडान खोल्ने तयारी भएको छ।
‘एयर बबल’ उडानअनुसार नेपालबाट उडान हुँदा नेपाली र भारतीय नागरिकमात्रै यात्रा गर्न पाउने छन् भने भारतबाट नेपाल उडान हुँदा पनि भारतीय नागरिक र नेपाली नागरिक यात्रा गर्न पाउँछन्। अन्य देशका नागरिकले यसरी सुरु हुने उडानमा यात्रा गर्न पाउँदैनन्।
योसँगै अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट तथा क्वारेन्टाइनको नियम भने पुरा गर्नुपर्नेछ। अहिले भारतले पनि विभिन्न देशहरुसँग एयर बबल नियमअनुसार उडान गरिरहेको र नेपालमा पनि सोहीअनुसार उडान गर्ने तयारीसँगै प्रस्ताव पठाएको हो।
मन्त्रालयले पनि दुई पक्षीय सहमतिमा उडान सुरु गर्ने विषयलाई अन्तिम चरणमा पुराएको र केही दिनबाट उडान सुरु गर्ने तयारी गरेको स्रोतको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।