काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। यसअघि आइतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ९२९ जना छन्। मन्त्रालयका अनुसार हाल ६ हजार ३१० जना क्वारेन्टाइनमा छन्।
आज १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५४ हजार ६४० जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.१ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।