काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कीर्तिमानी जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो।
शारजाह क्रिकेट मैदानमा भएको खेलमा २२४ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले ३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। राजस्थानको रोमाञ्चक जितमा सन्जु सामसन, राहुल तेवाटिया, कस्तान स्टिभ स्मिथ र जोफ्रा आर्चरले उत्कृष्ट ब्याटिङ गरे। ४२ बलमा सात छक्का र चार चौक्का प्रहार गरेको सन्जुले ८५ रन बनाउँदा राहुलले ३१ ब्लमा ५३ र २७ बलको सामना गरेका स्मिथले ५० रन बनाए। त्यस्तै, जोफ्रा आर्चरले ३ बलमा अविजित १३ रन बनाए। बलिङतर्फ पञ्जाबका मोहम्मद सामलीले तीन विकेट लिए।
मयंकको शतक छायामा
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले उत्कृष्ट सुरुवात गरेको थियो। निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रन बनाएपछि राजस्थानले विशाल लक्ष्य पाएको थियो। कप्तान केएल राहुल र मयंक अग्रवालले विष्फोटक ब्याटिङ गर्दै टिमलाई बलियो स्थितिमा ल्याए।
मयंकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै १०६ रन बनाए। तर टिमको हारसँगै उनको शतक भने छायामा रह्यो। त्यस्तै, कप्तान केएल राहुलले ६९ रन बनाए। मयंक र कप्तान केएल राहुलले पहिलो विकेटको लागि १८३ रनको विशाल साझेदारी गर्दा पञ्जाबले विशाल लक्ष्य बनाएको थियो। त्यस्तै, निकोलस पुरनले २५ र ग्लेन म्याक्सवेलले १३ रन जोडे। बलिङतर्फ टोम कुरन र अंकित राजपुतले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।