काठमाडौं– आइतबार मन्त्रिपरिषद् बैठक बोलाउने कुनै नियमितता थिएन। तर आकस्मिक रुपमा बैठकको खबर पाएपछि मन्त्रीहरुले सोचेका थिए, बैठकले कुनै नयाँ र महत्वपूर्ण निर्णय गर्नेछ। निर्णय नै नभए पनि प्रधानमन्त्री केपी ओलीबाट कम्तीमा पनि कुनै महत्वपूर्ण विषयमा ‘ब्रिफिङ’ हुनेछ। बैठक त भयो तर त्यस्तो महत्वपूर्ण न निर्णय भयो, न त छलफल नै।
‘आकस्मिक रुपमा डाकिएको बैठकको खबरसँगै हामीले मन्त्रिमण्डल पुनर्गठनबारे केही छलफल होला, प्रधानमन्त्रीले केही सुनाउनुहोला भन्ने सोचेका थियौं,' बैठक सकिएपछि आइतबार साँझ एक मन्त्रीले नेपाल लाइभसँग भने, ‘त्यस्तो कुरा नआएपछि हामीलाई पनि एक हिसाबले आश्चर्य नै लाग्यो।’
मन्त्रिपरिषद् बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री ओलीले बैठकको नियमिततातिर संकेत गरेपछि अघिपछि जस्तै ‘प्रस्ताव ओपन’ गरेर बैठक अगाडि बढ्यो। बैठकले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गर्यो। त्यसैगरी, नेपाल र इजरायल सरकारको संयुक्त लगानीमा हुने भनिएको बागवानी केन्द्र स्थापनाको एमओयुमा हस्ताक्षर गर्ने अख्तियारी नेपालका लागि इजरायली राजदूत अञ्जान शाक्यलाई दिने निर्णय भयो। यी दुवै निर्णयहरु प्रक्रियामा रहेका तर कुनै हतार गर्नु पर्ने निर्णयहरु थिएनन्।
खासमा आइतबारको आकस्मिक बैठक किन र के का लागि थियो त?
‘अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल वितेका केही दिनदेखि मन्त्रिपरिषद् पुनर्गठनकै विषयको छलफलमा हुनुहुन्थ्यो, सम्भवतः आइतबार नै यो विषयमा टुंगोमा पुगेर प्रधानमन्त्रीले मन्त्रिपरिषदमा केही निर्णय सुनाउन चाहनुभएको थियो जुन सम्भव भएन,’ ती मन्त्रीले भने, ‘मन्त्रिपरिषद अघि भएको दुई अध्यक्षको बैठकले बिदा गर्ने मन्त्री र नयाँ ल्याउने मन्त्रीको सूची फाइनल गर्न नसक्दा आकस्मिक बैठकले कुनै अर्थ दिन सकेन।’
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मन्त्रालयमा भएका प्रगतिका आधारमा मापदण्ड बनाएर केही मन्त्रीहरुलाई बिदा गर्न चाहेको र मन्त्रालय फुटाएर भए पनि मौका नपाएका र काविल सांसदहरुलाई मन्त्री पद दिन चाहेको उनी निकटका नेताहरुले दाबी गर्दै आइरहेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्री पदबाट बिदा गर्नुपर्नेहरुको नामको सूचीमा अर्का अध्यक्ष पुष्पकल दाहालका विश्वासपात्र पनि परेकाले यो विषय आइतबार टुंगिन नसकेको दाबी ओली निकट नेताहरुको छ। तर अर्का अध्यक्ष दाहालले भने आफू निकटका नेताहरुसँग ‘प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा दलभित्रको शक्ति सन्तुलनलाई बेवास्ता गरेकाले यो काममा ढिलाइ भइरहेको’ बताएका छन्।
अध्यक्ष ओली र पुष्पकमल दाहालबीच आइतबार अघि भएका छलफलहरुमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, मन्त्रालय टुक्राएर भए पनि मन्त्रीको संख्या २५ पुर्याउने र थपिने या बिदा गर्ने मन्त्रीहरुका लागि मापदण्ड बनाउने सहमति भएको थियो।
‘अघिल्ला छलफलहरुकै आधारमा दुवै अध्यक्षले आइतबार मन्त्रिपरिषद अघिको बैठकमा नयाँ बनाउने मन्त्रीको नामको सूचीमा छलफल गर्ने र यसलाई टुंगोमा पुर्याउने कुरा रहेछ तर नामहरुमा मतान्तर भएपछि कुरा अगाडि बढेनछ,' नेकपाका अर्का एक नेताले भने, ‘दुवै अध्यक्षले अब जहाँ गाँठो परेको छ, त्यसलाई फुकाएपछि यो विषयले निकास पाउला।’
आइतबारको बैठकमा ओली र दाहालले नयाँ मन्त्रीहरुको नाम टुंगाउन नसके पनि उनीहरू यो विषयमा पुनः भेटेर छलफलमा बस्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।