काठमाडौं– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ७ विकेटले पराजित भएको हो।
अबुधावीको शिख जायद क्रिकेट मैदानमा १४३ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकत्ताले १८ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। कोलकत्ताको भने यो दोस्रो खेलमा पहिलो जित हो।
कोलकत्ताको जितमा शुबमन गिलले अविजित ७० रन बनाए। त्यस्तै, इयोन मोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रनको योगदान दिए।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेटको क्षतिमा १४२ रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले ५१ रन बनाए। त्यस्तै, कप्तान डेविड वार्नरले ३६ र ऋद्धिमान शाहले ३० रन बनाएका थिए। बलिङतर्फ पट कुम्मिन्स, आन्द्रे रसेल र बरुण चक्रवर्तीले समान १–१ विकेट लिए।
पहिलो खेलमा कोलकत्ता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो। यता, हैदराबाद भने आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० रनले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।