काठमाडौं- १३ दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार संकलन गरिएको उनको स्वाबको शनिबार बेलुका नेगेटिभ रिपोर्ट आएको डा केसीका सहयोगी डा तोषिमा कार्कीले जानकारी दिएकी छन्। त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको थियो।
१३ दिनअघि जुम्लामा अनसन सुरु गरेका डा केसी असुरक्षाको महसुस भएको भन्दै मंगलबार काठमाडौं आएका थिए। काठमाडौं आएपछि सरकारले जबर्जस्ती उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो। तर त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर उनी शिक्षण अस्पताल गएका थिए।
डा केसीको समर्थनमा युवाहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ। तर उनका माग सम्बोधन गर्न सरकारले कुनै चासो देखाएको छैन। आफ्ना माग पूरा नहुन्जेल आफूले अनसन स्थगित नगर्ने डा केसीले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।