काठमाडौं- शनिबार देशभर कोरोना संक्रमण पुष्टि भएका १ हजार २ सय ७ जनामध्ये करिब ६० प्रतिशत काठमाडौं उपत्यकाका भएको दखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका हुन्। यीमध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना थपिएका हुन्। उपत्यकामा थपिएका ७२४ जना भनेको देशभरका कुल संक्रमितको ५९.९८ प्रतिशत हो।
देशभरका तुलनामा काठमाडौं उपत्यकामा यति धेरै कोरोना संक्रमित देखिएको यो पहिलो पटक हो। यसअघि असोज ३ गते ५९.०५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका थिए। असोज ३ मा देशभर १२ सय ४ संक्रमित भेटिँदा उपत्यकामा ७११ जना संक्रमित पुष्टि भएका थिए।
हालसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित असोज २ गते ८५९ जना देखिएका थिए। तर देशभरका कुल संक्रमित २०२० का दाँजोमा उपत्यकाको संक्रमित प्रतिशत ४२.५२ मात्र हो।
पछिल्ला केही दिनयता देशभर देखिएका कोरोना संक्रमितको ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा मात्र भेटिन थालेका छन्। मन्त्रालयले दिनहुँ थपिएका नयाँ संक्रमितको संख्या जिल्लागत रूपमा सार्वजनिक गरेपनि ती जिल्लामा भएको दैनिक भएको परीक्षण संख्या भने सार्वजनिक गर्ने गरेको छैन। यही अवस्थामा रहेमा अबको एक सातामा देशभर देखिएको संक्रमितको संख्याको ७० प्रतिशतसम्म उपत्यकाकै हुने मन्त्रालयको आँकलन छ।
असोज ९ गते शुक्रबार (हिजो) थपिएका १ हजार ३ सय १३ जना संक्रमितमध्ये उपत्यकाका ६ सय ४५ थिए। यो संख्या नयाँ थपिएको संख्याको आधारमा ४९.१२ प्रतिशत हो। असोज ८ भन्दा अघि र भदौ २० भन्दा पछि देशभर र काठमाडौं उपत्यकामा संक्रमितको संख्यालाई तालिकामा देखाइएको छ।

मन्त्रालयका अनुसार शनिबार देशभरमा ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३ हजार १३ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।
नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।