काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नाईले १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो। तर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३१ रनमात्रै बनाएपछि दिल्लीले चेन्नाईमाथि फराकिलो जित दर्ता गरेको हो। चेन्नाईका लागि फाफ डु प्लेसिसले ४३, केदार जाधवले २६, कप्तान महेन्द्रसिंह धोनीले १५, सेन वाटसनले १४, रविन्द्र जडेजाले १२ र मुरली विजयले १० रनमात्रै बनाए।
चेन्नाईलाई सस्तैमा समेट्न कागिसो रबडाले चार ओभरमा २६ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, एनरिच नोर्टजेले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा तीन विकेटको क्षतिमा १७५ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शावले ४३ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ६४ रन बनाए। त्यस्तै, रिषभ पन्तले अविजित ३७ रन बनाउँदा शिखर धवनले ३५ र कप्तान श्रेयस ऐयरले २६ रनको योगदान दिए।
बलिङतर्फ भने चेन्नाईका पियुष चावलाले दुई विकेट लिदा साम कुरनको नाममा एक विकेट रह्यो। दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।