काठमाडौं- चालु आर्थि वर्ष २०७७/७८को पहिलो एक महिना अर्थात् साउनमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स बढेको देखिएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ प्रतिशतले मात्रैबढेको थियो। चालु आर्थिक वर्षको साउन महिनामा मात्र अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको छ। राष्ट्र बैंककाअनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह शुन्य दशमलव ७ प्रतिशतले बढेको थियो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ९९ दशमलव २ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो। त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ८० प्रतिशतले घटेको छ।
राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने कोभिड १९ महामारीका बावजुद पनि साउन महिनामा वित्तीय र मौद्रिक सूचकहरु सकारात्मक नै देखिएका छन्। यो अवधिसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत छ। त्यस्तै साउनमा आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ भने निर्यात ८ दशमलव ९ प्रतिशतले बढेको छ।
देशको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडरुपैयाँले बचतमा छ भने कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकी डलर बराबर रहेको छ। यो अवधिमा संघीय सरकारको खर्च १ अर्ब ९५ करोड रुपैयाँ बराबर र राजस्व परिचालन ५८ अर्ब ८१ करोड रुपैयाँ बराबर छ।
विस्तृत मुद्राप्रदाय शून्य दशमलव ३ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १८ दशमलव ९ प्रतिशतले बढेको छ।
यद्यपि यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन नसकेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९ प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर ११ दशमलव ३ प्रतिशत बराबर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।