काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले शुक्रबार बेलुका ७ः४५ मा चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ। जसमा सन्दीप प्लेइङ टिममा पर्ने सम्भावना कम देखिन्छ।
पहिलो खेलमा किंग्स इलाभेन पञ्जावसँग सुपर ओभरमा जितेको खेलमा सन्दीप प्लेइङ टिममा पर्ने अनुमान भइरहे पनि उनी टिमबाट बाहिर रहे। त्यसबेला क्रिकेट विश्लेषकहरुको रोजाइँमा सन्दीप परिरहेका थिए, तर टिममा परेनन्। चेन्नईविरुद्धको खेलमा आइपिएल नियालिरहेका विश्लेषकहरुले सन्दीपलाई प्लेइङ टिममा अनुमान गरेका छैनन्।
चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा चेन्नई राजस्थान रोयलसँग १६ रनले पराजित भएको थियो। जहाँ राजस्थान र चेन्नई दुवै टिमले दुई सय रन हान्न सकेका थिए।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा चेन्नई र दिल्ली दुवै टिमले आफ्ना स्पिनरमा विशेष भर गर्ने भए पनि विदेशी खेलाडी हुँदा सन्दीपको सम्भावना कम बनिरहेको छ। टिमले एक पटकमा चार विदेशी खेलाडीलाई टिममा राख्न पाउँछन्। जहाँ दिल्लीले सिमरोन हेटमेयर, मार्कस स्टोइनिस, कागिसो रबाडा र एनरिच नोर्टजेलाई नै खेलाउने योजना बलियो देखिन्छ।

दिल्लीको बलिङतर्फ इशान्त शर्मा चोटका कारण टिमबाहिर नै छन्। उनको ठाउँमा मोहित शर्माले खेलिरहेका छन्। पहिलो खेलमा राम्रो गर्न नसकेको मोहितको स्थानमा तीब्र गतिका बलर अभेस खानको सम्भावना पनि देखिन्छ। यसअघि चोटमा रहेका रविचन्द्र आश्विन खेलमा फर्कने सम्भावना देखिन्छ। यदि उनी नफर्किएमा उनको स्थान अमित मिश्राले लिनेछन्।
दिल्लीका सहायक प्रशिक्षक मोहम्मद कैफले यो आइपिएलमा पुराना तथ्यांकको कुनै महत्व नरहेकाले फरक खेल हुने अपेक्षा व्यक्त गरेका छन्। यसैले गएको वर्ष चेन्नईसँग जस्तो खेल भएको भए पनि यो पटक आफूहरु बलियो रहेको उनको तर्क छ।
सम्भावित ११
चेन्नई सुपर किंग्स – शेन वाटसन, फाफ डु प्लेसिस, रुतुराज गाइकवाड, साम कुरान, केदार जादभ, रविन्द्र जडेजा, एमएस धोनी, दीपक चाहर, शार्दुल ठाकुर/कर्ण शर्मा, पियुष चावला, लुङ्गी एनगिडी/इमरान ताहिर
दिल्ली क्यापिटल्स – शिखर धावन, पृथ्वी शो, सिमरन हेटमेयर, श्रेयस ऐयर, रिसब पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्र आश्विन/अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्टजे, मोहित शर्मा/अभेस खान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।