काठमाडौं– किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा फराकिलो जित निकालेको छ। बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गरेको हो।
२०७ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले खराब प्रदर्शन गर्दै १७ ओभरमा अलआउट हुँदै १०९ रनमात्रै बनाउन सक्यो। चार रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान विराट कोहलीलाई गुमाएको बैंग्लोरले राम्रो खेल्न सकेन। बैंग्लोरका वासिङटन सुन्दरले ३०, एबी डि भिलियर्सले २८, आरोन फिन्चले २० र सिभम दुबेले १२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन्। खराब ब्याटिङ गरेको बैंग्लोरका सात खेलाडीले दोहोरो अंक पनि बनाउन नपाई आउट भए।
बैंग्लोरलाई सस्तैमा समेट्न पञ्जाबका रवि विष्नोई र मुरुगन अश्विनले समान ३–३ विकेट लिए। त्यस्तै, सेल्डन कट्रेलले २ विकेट लिदा, ग्लेन म्याक्सवेल र मोहम्मद सामीले समान १–१ विकेट लिए।
आइपिएलमा केएल राहुलको कीर्तिमान
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन बनायो।
पञ्जाबको विशाल स्कोरमा कप्तान केएल राहुल नायक सावित बने। उनले अविजित १३२ रन बनाए। उनले शतकीय पारी खेल्ने क्रममा ६९ बलको सामना गर्दै १४ चौका र सात छक्का प्रहार गरे। त्यस्तै, मयंक अग्रवालले २६, निकोलस पुरनले १७ र करुण नायरले अविजित १५ रनको योगदान दिए।
आइपिएलमा केएल राहुल एकै खेलमा सर्वाधिक उच्च रन बनाउने पहिलो भारतीय क्रिकेटर पनि बनेका छन्। यसअघिसम्म आइपिएलमा भारतीय खेलाडीको उच्च स्कोरको रेकर्ड दिल्ली क्यापिटल्सका रिषभ पन्तको नाममा थियो। उनले २०१८ मा सनराइजर्स हैदरावादविरुद्ध १२८ रन बनाएका थिए। समग्रमा एकै खेलमा सर्वाधिक उच्च रन भने क्रिस गेलको नाममा छ। क्रिस गेलले बैंग्लोरबाट सन् २०१३ मा १७५ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।