काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र चार जना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ४५७ निको भएका छन्। योसँगै ५० हजार ४११ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।