काठमाडौं– मुम्बई इन्डियन्सले इन्डियन प्रियिमर लिग (आइपिएल) क्रिकेटमा जित निकालेको छ। बुधबार राति भएको खेलमा मुम्बईले कोलकातामाथि ४९ रनको जित निकालेको हो।
अबुधावीको शिख जायद रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईले कोलकातामाथि फराकिलो जित निकालेको हो। १९६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रनमात्रै बनाउन सक्यो। कोलकाताका लागि पट कुम्मिन्सले ३३, कप्तान दिनेश कार्थिकले ३० र नितिस रानाले २४ रन बनाए।
बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ड, जेम्स पटिन्सन, जसप्रित बुमराह र राहुल चाहारले समान २–२ विकेट लिए।
टस हारेर यसअघि ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ५४ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ८० रन बनाए। त्यस्तै, सुर्यकुमार यादवले ४७, सौरभ तिवारीले २१ र हार्दिक पाण्ड्याले १८ रन बनाए।
कोलकाताले आफ्नो पहिलो खेलमा हार ब्यहोरेको हो। मुम्बईको भने यो दोस्रो खेलमा पहिलो जित हो। यसअघि चेन्नाई सुपर किंग्ससँग ५ विकेटको हार ब्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।