काठमाडौं- प्रदेश- २ का सामाजिक विकासमन्त्रीका छोरा एवं सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई काठमाडौं रिफर गरिएको छ।
कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको नगरपालिकाकी उपमेयर सरितादेवी यादवले जानकारी दिइन्। उनी प्रदेश- २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा हुन्।
नगर प्रमुख साहलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो। मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। लक्षणसहितको कोरोना देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।
मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको उपमेयर यादवले बताइन्। जनकपुरस्थित कोभिड अस्पतालमा भेन्टिलेटर नपाइएको र अवस्था जटिल हुने देखिएपछि काठमाडौं रिफर अस्पतालले गरेको उनले बताइन्। नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ। उनलाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ।
नगर प्रमुख साहसँगै उनको ३२ वर्षीय चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो। चालकको अवस्था सामान्य रहेकाले आइसोलेनमा राखिएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।