काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्स लगातार दोस्रो जितको खोजीमा हुँदा राजस्थान रोयल्स पहिलो जित निकाल्ने दाउँमा छ।
युएईको शारजाह क्रिकेट मैदानमा चेन्नाई र राजस्थानबीच खेल मंगलबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको चेन्नाई दोस्रो जितको खोजीमा छ। महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रिने चेन्नाईको तागत नै ब्याटिङ हो।
शेन वाटसन, फाफ डु प्लेसिस, मुरली विजय, आम्बती रयुडु, कप्तान धोनी लगायतका ब्याट्सम्यान हुँदा उच्च फर्ममा रहेका रविन्द्र जडेजा, साम कुरन र केदार जाधव जस्ता अलराण्डर छन्। उपाधि दाबेदार टिमको रुपमा लिइएको चेन्नाईको बलिङ पनि राम्रो छ। दीपक चाहार, पियुस चवला, लंगी नगिदी, जडेजा र सामको बलिङ किफायती हुने गरेको छ।
यता, राजस्थान भने आफ्ना भरपर्दा दुई विदेशी खेलाडीबिनै मैदानमा उत्रँदैछ। बेन स्टोक्स र जस बटलर भने राजस्थानको पहिलो खेलमा टिममा उपलब्ध हुने छैनन्। बटलर केही दिनअघि मात्रै युएई आइपुगेका छन्। उनी अहिले क्वारेन्टाइनमै बसिरहेका छन्। स्टोक्स उनका बाबु बिरामी परेको कारण न्युजिल्यान्डमा परिवारसँगै छन्। स्टेभ स्मिथको कप्तानीमा रहेको राजस्थानको टिम पनि बलियो छ।
सम्भावित प्लेइङ इलाभेन
राजस्थान– स्टेभ स्मिथ (कप्तान), रविन उथप्पा, डेविड मिलर, टोम कुरन, जोफ्रा आर्चर, यशस्वी जैसवाल, सन्जु सामसन, रियान पराग, श्रेयस गोपाल, अंकित राजपुत, वरुण अरुण
चेन्नाई– महेन्द्रसिंह धोनी (कप्तान), शेन वाटसन, फाफ डु प्लेसिस, साम कुरन, मुरली विजय, आम्बती रयुडु, केदार जाधव, रविन्द्र जडेजा, पियुस चवला, दीपक चाहार, लंगी नगिदी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।