राँझा- भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उनको मृत्यु भएको छ।
कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा कैदीबन्दीको सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
पुरानो दम र श्वासप्रश्वास समस्याबाट पीडित ती व्यक्तिलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत स्वास्थ्य अवस्थामा सुधार नआइ मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। अन्य जिल्ला घर भई बाँकेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या चार रहेको अस्पतालले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।