काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिए) मा किंग्स इलाभेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्स टिमको प्लेइङ सेटमा सन्दीप लामिछाने परेका छैनन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पञ्जाबले टस जितेर बलिङ रोजेपछि दिल्लीले ब्याटिङ गर्ने भएको छ। केही बेरपछि सुरु हुने खेलमा नेपालका सन्दीप दिल्लीको प्लेइङ सेट बाहिर छन्।
दिल्लीको प्लेइङ सेटको विदेशी खेलाडी कोटामा मार्कस स्टोइनिस, सिमरोन हिटम्यर, एनरिच नोर्टजे र कागिसो रबडा परेका छन्। त्यस्तै, पञ्जाबको टिममा विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, निकोलस पुरन, सेल्डन कट्रेल र क्रिस जोर्डन परेका छन्।
दिल्लीको टिममा कप्तान श्रेयस ऐयरसँगै पृथ्वी शाव, शिखर धवन, रिषभ पन्त, अक्षर पटेल, रविचन्द्रन अश्विन र मोहित शर्मा छन्।
केही दिनअघि मात्रै क्यारेबियन प्रिमियर लिग (सिपिएल) सकाएर युएई पुगेका सन्दीपले शनिबार मात्रै टिमसँग अभ्यास गरेका थिए। २०१८ को डेब्यू आइपिएलमा सन्दीपले ३ खेलबाट ५ विकेट लिएका थिए। त्यसपछि २०१९ मा भएको आइपिएलमा उनले ६ खेलबाट ८ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।