काठमाडौं- सरकारले जनकपुर-जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेको छ। बिहीबार साँझ उक्त रेल जयनगर स्टेसन आइपुगेको छ। शुक्रबार जनकपुर आइपुग्ने छ।
नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो। गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो। जनकपुर-जयनगर खण्डमा चलाउन लागिएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो।
सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमाे ट्रेन खरिद गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा चित्रण गर्दै आएका छन्।
नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही दिन अघि १ सय २९ जना सहायक प्राविधिक सहितको कर्मचारी मागेको थियो। जनकपुर-जयनगर खण्डमा रेल सञ्चालनका लागि २ सय २६ जना जनशक्ति आवश्यक पर्ने कम्पनीको भनाइ छ।
तर सुरूमा कम्पनीले १ सय २९ जना कर्मचारी लिन लागेको हो। कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले १२९ जनाले काम गर्दै जाने र विस्तारै बाँकी पदपूर्ति गरिने बताए। प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्ना गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।