काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दैनिक २० जनाभन्दा बढीलाई सेवा प्रवाह नगर्ने भएको छ। साउन २५ गतेबाट स्थगित गरिएका नियमित सेवा सामाजिक दूरी कायम गर्दै प्रवाह गर्न सुरु गरिएको प्रशासनले जनाएको छ। आइतबारदेखि लागू हुने गरी प्रत्येक सेवामा दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी सेवा प्रवाह हुने प्रशासनले जनाएको छ।
प्रशासनले स्थानीय तहअनुसार सेवाग्राहीलाई फरक-फरक दिनमा कार्यालय प्रवेश पाउने जनाएको छ। नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण लगायतका सेवाका लागि काठमाडौं महानगरपालिकाका बासिन्दालाई आइतबार छुट्याइको छ।
सोमबारका लागि कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि नगरपालिकाका बासिन्दाले पालो पाउने छन्। मंगलबार पुनः काठमाडौं महानगरपालिका नागरिकले सेवा लिन पाउनेछन्। साथै, बुधबारका लागि बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवागा्रहीलाई छुट्याइएको छ। बिहीबारका लागि काठमाडौं महानगरपालिका र शुक्रबार भने गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिका सेवाग्राहीलाई छुट्याइएको छ।
पत्रपत्रिका संघ संस्था दर्ता र नवीकरण साताका दुई दिन मात्रै हुने भएको छ। त्यसका लागि सोमबार र बुधबार निर्धारण गरिएको छ। संघसंस्था नवीकरण आइतबार, मंगलबार, बिहीबार हुने भएको छ। पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनका लागि शुक्रबार तोकिएको छ।
हरेक दिन ४ बजेपछि शान्ति सुरक्षाको निवेदन र मुद्दाका कार्य हुने जनाइएको छ।
तोकिएका बारमा मात्रै कार्यालयमा आउनका लागि सेवाग्राहीलाई प्रशासनले आग्रह गरेको छ। सेवाग्राहीलाई टोकनको व्यवस्था गर्ने प्रशासनले जनाएको छ। सेवाग्राहीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासनले जनाएको छ। रुघाखोकी, ज्वरोको लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश दिइने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।