काठमाडौं-इंग्ल्यान्डसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै सिरिज अस्ट्रेलियाले २–१ ले आफ्नो पक्षमा पारेको हो।
म्यान्चेस्टरमा बुधबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि रोमाञ्चक जित निकालेको हो। ३०३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २ बल बाँकी छदा जित निकाल्यो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाएपछि जित सम्भव भएको हो।
म्याक्सवेलले ९० बलमा ७ छक्का र ४ चौकाको मद्दतमा १०८ रन बनाए। त्यस्तै एलेक्सले ११४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै १०६ रन बनाए। कुनै बेला अस्ट्रेलिया फराकिलो हार नजिक थियो। खराब सुरुवात गरेको अस्ट्रेलियाले ७३ रन हुँदा ५ विकेट गुमाएको थियो। अस्ट्रेलियाका लागि डेभिड वार्नर २४, मार्नुस लबुस्चेन २०, कप्तान आरोन फिन्च १२, मार्कस स्टोइनिस ४ र मिचेल मार्स २ रनमा आउट हुँदा अस्ट्रेलियाको १६.५ ओभरमा ५ विकेटको क्षतिमा ७३ थियो।
तर छैटौ र सातौं नम्बरमा ब्याटिङ गर्न आएका एलेक्स र म्याक्सवेलले टिमलाई जिततर्फ डोर्याए। छैटौं विकेटका लागि म्याक्सवेल र एलेक्सले २१२ रनको विशाल साझेदारी गरे। तर जितका लागि १४ बलमा १८ रन आवश्यक हुँदा म्याक्सवेल आदिल राशिदको बलमा आउट भए। त्यसलगतै ४९ औं ओभरको अन्तिम बलमा एलेक्स पनि आउट भएपछि अस्ट्रेलियालाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो। ब्याटिङ गर्न आएका मिचेल स्टार्कले एक छक्का र एक चौका प्रहार गर्दै अस्ट्रेलियालाई रोमाञ्चक जित दिलाए। बलिङतर्फ क्रिस वोक्स र जोइ रुटले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेटको क्षतिमा ३०२ रन बनाएको थियो। इंग्ल्यान्डका लागि जोनी बैरस्टवले शतकसहित ११२ रन बनाए। त्यस्तै साम विलिङ्सले ५७ र क्रिस वोक्सले ५३ रन बनाएका थिए। बलिङतर्फ मिचेल स्र्टाक र एडम जाम्पाले समान ३–३ विकेट लिए।
पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा भने इंग्ल्यान्डसँग अस्ट्रेलिया २४ रनले पराजित भएपछि सिरिजको छिनोफानो अन्तिम खेलले लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।